सबै नोटमा फर्कनुहोस्

Multilayers Vegetable

म खेतीमा आए ।

खेतीपाती गर्नु भनेको आफ्नो कारण प्रकृति कम क्षति गर्ने कुरा पनि हो । डुब्दै गरेको समुन्द्र तट, नाङ्गिँदै गरेको हिमाल, सुक्दै गरेको खोला, तात्दै गरेको दुनिया, करीब करिब ध्वस्त हुन लागेको ब्रह्माण्ड म मेरै कारणले थेगिन्छ भन्ने मान्दिन । रुमानी सपनाको लहरोमा लहसिँदै परदेश लाग्दै गरेको तन्नेरीतन्नेरी, रित्तिँदै गरेको गाउँ, बाँझिँदै गरेको जमिन, हराउँदै गरेको ठेट गाउँले बुद्धि म फेरि बर्कारार राख्छु यो पनि होइन । हराएको गोरु, लोप हुँदै गरेको स्थानीय सीप, सकिँदै गएको बीउ, नासिँदै गएको अर्मपर्म, रसायन विषादीले मर्दै गरेको माटो सबै फर्किएला यो पनि विश्वास छैन । तर कम्तीमा मेरो जीवनमा फरक पर्छ । मेरी छोरीको जीवनमा फरक पर्छ र थोरै सही अन्य केहीको जीवनमा पनि फरक पर्ला । हुटिट्याउँले आकाश थेग्दैन यो पक्का हो तर प्रयत्न त गर्न छाड्न भएन ।

Saroj Khatiwada

म खेतीमा आए ।

डियर छहारी, ह्याप्पी एनीभर्सरी !

तिहार आसपास काटेको धान थ्रेसर लगाएपछि छहारीले आफ्नो एकवर्षे बाली चक्र पूरा गर्‍यो । यो साल छहारीको धान लगभग ४५ मुरी भयो । हिउँदे धान २० मुरी, वर्षे धान २५ मुरी । क्या गज्जब, यो साल छहारीमा आउने पाहुना र हामी छहारी घरका सबैलाई आफ्नै खेतको धानले खाना पुग्छ । खेतको धान लगेर भाडाको घरमा थन्काएपछि चिया पसलमा गएर चियाको सुर्कोसँगै हामीले चुपचाप छहारी फार्मसँगै आफ्नो सहयात्राको समेत वर्षगाँठ मनायौँ । छहारीमा हामी एघार जना साथीहरू भए पनि सघन रूपमा भने हामी तीन भाइ फार्ममै छौँ । प्रदिप, दिपेश र मैले ख्यालख्यालमै एक वर्ष छहारीमा बितायौँ । एकदम शान्त, एकदमै बिन्दास, एकदमै प्रेमपूर्वक । यसो होइन कि हामीले कहिलै रातो अनुहार लगाएनौँ । कहिलै बाझाबाझ गरेनौँ । अनुहार रातो भयो कहिलेकाहीँ, मुख फोरियो। कुनै बेला, तर उतीखेरै मायाले, विश्वासले अँगालो मारौँ । भरोसाले एकअर्काको हात थामौँ । यसरी थोरै अँध्यारो भएको गोधुली प्रभात बन्दाबन्दै फेरि उज्यालो खोज्यौँ । हामीले छहारीमा एक वर्ष बितायौँ । ह्याप्पी एनीभर्सरी डियर छहारी ।

एक वर्ष अगाडि

सरोज

एक साँझ अड्डाबाट आएपछि कालो कोट खोलेर भित्तामा झुण्डाएर भोलिपल्ट उठेर उनी सिन्धुली लागे । तर आम बुझाइमा असल (सप्रिने वा कमाउने) कर्म थिएन । अझ धेरै हदमा पागलपन पनि । यसरी हठात् उठेर हिँड्ने व्यवहार त पटकै होइन । एक वर्ष पुग्दै गरेकी छोरी । श्रीमतीको बलबुतामा ठिकठाककै व्यवसाय । पुरानो चिनजानकै कार्यालयबाट टिपनटापन कामबाट आउने चिया खर्च । आफ्नै लगौटी यारसँगको मिलेर गरेर कानून व्यवसायीको अभ्यास । नपुग्दो उस्तो केही थिएन । नहुँदो पनि केही थिएन । रिल बनाउन शहरमै सजिलो, टिकटकमा देखाउन शहरै चम्किलो । छोरी र श्रीमतीसँग फेवातालमा घुम्न उतैबाट छिटो पुगिन्छ । आज जाइदिउ न त भन्दा माइतमावली उतैबाट नजिक छ । बा आमा भेट्न जाऊँ त भन्दा गाडी उतैबाट पाइन्छ । एक बिहान सब थोक अलपत्र छाडेर सरोज सिन्धुली लागे ।

दिपेश

प्रतिष्ठित कार्यालयमा गज्जबको जागिर । शहर छेउमै आफ्नो र परिवारको बलबुतामा गरेको सानोतिनो खेतीपाती । उमेर, नाम, र सोमतले जेन्जी अर्थात् अहिले चल्तापुर्जा किसान र अभियन्ता । पढेको, जानेको गफ लाइरहने हुँदा छापाले पनि चिनेको । मन्त्रालयदेखि सांसदले बाडुल्की लाइरहने । यसो, उसो, कसो, कसो चर्चामा छाइरहने । आफ्ना वरिपरिका सबै दावलीले चिल गाडी चढे अर्थात् देश छाडे । घरमै निलोकोट , सेतो सट टल्काउनेको बहुमत हुँदा एक ठेली किताब र मनमा सरकारी हाकिम हुने भाव उनकै पनि । घरबार गर्न घाम घर्किन घर्किन लागेको । शहरको घर, भएभरका अवसर, जिन्दगीले पाउने एकसरो सेवा आफ्नै पार्किङ्गमा पार्क गरेको  सेगवेय ( ईलेक्ट्रिक स्कुटर पार्किङमा  छाडिदिए अनि एक बिहानै दिपेश अर्थात् जेन्जी किसान सिन्धुली लागे ।

प्रदिप

लामो कालखण्ड पालोफेरो सत्ता भोगमा लिप्त भएका भाद्र २३ र २४ को घटनाले किनाराकृत भएका दलहरू मरणाशन्न हुने गरि पछारिएर बैरदै थिए । सिंहदरबारको आगोको लप्काकै बलमा बनेको गैरदलीय सरकार भर्खरै बनेको हुँदा सडकबाट सत्तालाई प्रश्न सोध्नेहरू आफै अलमलमा थिए । प्रदिप सहभागी हुने छलफलमा पनि अगाडिको समाज र राजनीतिको काल्पनिकि धमिलो धमिलो नै थियो । बाउले कमाएको रुपियाँले किनेको, आमाको सीपले तयार पारेर हजुरआमाको हातले पस्केर दिएको माम खाएर दाजुदिदी (अली धेरै दिदी) ले दिएको रुपियाँले चिया खाँदै, भटभटे हुइकाउदै बागबजार र घर गर्दा मनमा भने परनिर्भताको पिरले सन्चो भएको थिएन । मार्क्सले के भने, लेनिनले के गरे, वा स्टालिन वा माओले के गरे ? श्रमै नगरी, उत्पादनको प्रक्रियामै नजोडिएर त पक्कै आन्दोलन नहोला । प्रदिप फेरि शहर, सडक छाडेर खेततिर लागे । नारा लाइरहने माइतीघर मण्डला टाढा भयो । चिया खाना धाइरहने बागबजार पर भयो । विकल्प रहित नुनसँग अन्न खाँदै वैकल्पिक दुनियाकाे सपना देख्नेहरू विराना भए । प्रेमिका उतै झिलमिल चक्काचाँदमा छुटिन् । प्रदिप किसान भए ।

अब केटाहरूको कथा व्यथा उनीहरूलाई छाडौँ ।

भान्सामा विष पाकिरहेको छ ।

छोरी जन्मिएको ५ महिनापछि मैले धेरै समय छोरीसँग नै बिताउन थालेँ । दूध पिलाउनेभन्दा बाकी सबै कामहरू आफुले पनि गर्न थालेपछि छोरीको खाने कुराको त ख्याल हुने नै भयो ।" आफू सानो छँदा आमा बाबालाई दुख दिँदा उहाँहरूले जस्तो आफ्ना सन्तान जन्मिएपछि थाहा पाउलास" भनेझैँ धेरै थाहा पाइयो । उसले के खान्छे ? कसरी खान्छे ? के खाँदा उसलाई सन्चो होला ? सोचिने नै भईयो । हाम्रो उत्पादन प्रणाली अर्थात् नेपाली कृषिमा थोरै लगाव भएको र केही सूचना समेत भएको हुँदा छोरीलाई खाना खुवाउने काम गर्दा सधैँ मन भने डराइरहने । पसलमा पाइने तयारी खाना त परै छाडौँ घरमै पाक्ने खानामै पनि ढुक्क कहिलै हुन सकिएन ।  छोरीलाई पकाएको जाउलोमा लगाउने आलुमा कति रसायन र विषादि मिसिएकाे होला ? दाल, चामल कस्तो होला ? साग कस्तो होला ? दूध कस्तो होला ? हरेक दिन दाेहाेरिरहने यी प्रश्नहरू अनुत्तरित थिए । किनकि यसकाे उत्तर आफैँले थाेरबहुत फलाउने अनि भान्सा चलाउने  सकभर बाहिरी सामग्री कम प्रयोग गर्ने हाे । जुन शहरमा बसेर सम्भब छैन । अन्यथा, अहिले हामी धेरैको भान्सामा विष नै पाकिरहेको छ । हामी खानाको नाममा धेरै कालकुट नै खाँदै छौँ । फेरि पनि यी सबैबाट फुत्किन आफ्नो बुताको उत्पादन नै हाे । सकेसम्म आफ्नो भान्सा सकभर धेरै चिज आफ्नै हातले उत्पादन गरेर नै खाने हो यसको लागि जाने माटोमै हो । मलाई कृषिमा लाग्न प्रेरित गर्ने पहिलो अवस्था यही नै हो ।

डर छ ।

खेतीपाती रमाइलो छ । मात्रै एउटा मनदशा भने मनमा खड्कीरहन्छ । त्यो भनेको आर्थिक नै हो । भोलि आफू र आफ्ना परिवारजनको स्वास्थ्यमा समस्या आए के होला ? एउटै छोरीको कखरा किन्न नसके कसो होला ? आफ्नाहरूको पेट भर्न नसके के होला ? मेरै कारण मेरो परिवार स्वभाविक रूपमा प्राप्त गर्ने ऐश्वर्य नपाए के होला ? यी तमाम पिरमर्काले भने सताइरहन्छ । म जहाँ छु ठिक छु यो अहमले जित्न छाडेर आफैमा आफ्नो कर्मले हीन भावना आए के होला ? दुख बल्झिए के होला ? मन अल्झिए के होला ? मेरै कर्मलाई चोर औँला देखाउँदै बाले थुइक्क मोरा भनेको दिन के होला ? सधैँ आफ्नो पोल्टाबाट मेरो अँजुलीमा खुसी पोखिदिने जीवन साथीले धिक्कार जुनी भने के होला ? छोरीले बा तिमीले मलाई किन खर्च गरेनौ भने के भन्ने होला ? यी केही सम्भावित मनोभावनाका प्रश्नहरू बाहेक खेतीपाती बढो रमाइलो छ ।

चारआने बारी, चारतले घर, चारपाङ्ग्रे सवारी, झन्झन् थपिँदै जानी अनेकन तालतालका खर्चिलो र उत्ताउलो जीवन धान्न नसकिएला कि भन्ने संशय मात्र होइन पक्का नै छ । बाँकी माटोको कर्मले केही हुन्न वा कृषिमा सम्भावना नै छैन भन्ने तथ्यलाई भने यो एक वर्षको अनुभवले खारेज गरेको छ । असल (रसायन विषादी नराखी) कृषि गरेर, माटो नबिगारी, प्रकृतिको लय नभत्काई पनि खेती त हुन्छ भन्ने एक वर्ष अगाडिको आश, अहिले आत्मविश्वास भएको छ । जिन्दगी चलाउन सकिन्छ, अलिकति कमाउन सकिन्छ, प्रकृतिको लय र माटोमा खुसी खोज्ने हो भने रमाउन सकिन्छ । जस्तो कि यो वर्ष छहारीमा हामीले गरेको केही होइन । केही सख्खर बनाएर शहर लगेको हो । केही रोजेल फुलाएर पाेकाे पारेर बेचेको हो । केही भुइँकटहर फलाएको हो । थोरै सयपत्री फूल फुलाएको हो, अलिकति धान उब्जाएकाे हो बाँकी सानातिना कामहरू हुँदैछन् । जे होस् बजारी हल्ला जस्तो किसानी दयनीय त पक्कै छैन । बस पाखुरा बजाउन सक्नु पर्‍यो । खुसी खोज्ने हो ।

खेतीपाती गर्नु भनेको आफ्नो कारण प्रकृति कम क्षति गर्ने कुरा पनि हो । डुब्दै गरेको समुन्द्र तट, नाङ्गिँदै गरेको हिमाल, सुक्दै गरेको खोला, तात्दै गरेको दुनिया, करीब करिब ध्वस्त हुन लागेको ब्रह्माण्ड म मेरै कारणले थेगिन्छ भन्ने मान्दिन । रुमानी सपनाको लहरोमा लहसिँदै परदेश लाग्दै गरेको तन्नेरीतन्नेरी, रित्तिँदै गरेको गाउँ, बाँझिँदै गरेको जमिन, हराउँदै गरेको ठेट गाउँले बुद्धि म फेरि बर्कारार राख्छु यो पनि होइन । हराएको गोरू, लोप हुँदै गरेको स्थानीय सीप, सकिँदै गएको बीउ, नासिँदै गएको अर्मपर्म, रसायन विषादीले मर्दै गरेको माटो सबै फर्किएला यो पनि विश्वास छैन । तर कम्तीमा मेरो जीवनमा फरक पर्छ । मेरी छोरीको जीवनमा फरक पर्छ र थोरै सही अन्य केहीको जीवनमा पनि फरक पर्ला । हुटिट्याउँले आकाश थेग्दैन यो पक्का हो तर प्रयत्न त गर्न छाड्न भएन ।

मैले मेरी छोरी र छोरी जस्ता अरू केही नानीहरूलाई स्वस्थ खाना खुवाउन फर्किनु नै थियो । मैले मेरी छोरीको पुस्ताको लागि माटो अक्षुण्ण राख्न माटोमा फर्कनु नै थियो । मैले विरासतमा पाएको प्रकृति मेरो पुस्ता दर पुस्तालाई मेरो तर्फबाट नासो नै दिन पनि फर्किनु नै थियो । यतिका बाबजुत खेतीमा फर्किँदा भन्नेहरूले मलाई पागल नै भने । स्वभाविक रूपमा मैले स्वीकार गरे । झोलामा कथित पठितको प्रमाणपत्र बोकेर कोदालो खन्न जानेलाई आम समाजसँग खासै अर्को भाषा र व्यवहार छैन ? भन्नलाई त सार्वजनिक वृत्तमा भेटिने सबै म खेतीमा जान्छु नै भन्छन् । कमाएकाहरू कृषि गर्छु भन्छन् । नकमाएकाहरू कृषि गर्छु भन्छन् । जीवनमा पाएकाहरू खेती गर्छु भन्छन्, गुमाएकाहरू पनि । व्यवहारिक रूपमा यसो हुँदैन । विगतको यादको फन्कोमा अल्झिएर खेतबारीमा फर्कन्छु भन्ने एउटा कुरा तर तीमध्ये ९० प्रतिशत फर्किँदैनन् । कतिपय रहरमा अल्झिरहन्छन्, कतिपय बाध्यतामा रुमल्लिइरहन्छन् । कृषिमा फर्किने कुरा आर्थिकभन्दा मनोविज्ञानको दृष्टिबाट अझ कठिन हो । मैले आफ्नो पल्लाको बिँडा उठाउने कर्म गर्नु नै थियो । यो समग्रमा स्थूल अति स्थूल कुरा हो त्यै पनि म खेतीमा फर्किएँ ।

- सराेज खतिवडा मानवशास्त्री तथा कानुनका विध्यार्थी हुन्।