सबै नोटमा फर्कनुहोस्

छहारीकाे उत्पादन

अनि छहारीको स्वस्थकर सख्खर भान्सामा

उखुलाई पेलेर आउने रसलाई पकाएर जमाई तयार हुने सख्खर एक प्राकृतिक, शुद्ध र पौष्टिक खानेकुरा हो । उखुलाई पेलेर सख्खर बनाइ बजारसम्म लाने क्रममा कम प्रशोधन गरिने भएकाले यसमा उखुका मौलिक खनिज तत्त्वहरू सुरक्षित हुने हुँदा स्वास्थ्यको दृष्टिले समेत श्रेयस्कर छ । आयुर्वेदले यसलाई खाद्य पदार्थ मात्र नभई एउटा ‘योगवाही’ (औषधिको गुण बढाउने र कोषिकासम्म पु¥याउने माध्यम) का रूपमा चर्चा गरेको छ । त्यसैले सख्खर केवल गुलियो वा मिठासको स्रोत मात्र नभई एक औषधीय खाद्य पदार्थसमेत हो ।

लेखक

Saroj Khatiwada

यो कथा विशेष रूपमा सख्खरको कथा हो । सख्खरसँगै यो विश्वासको कथा हो । अनि त्यही विश्वासमा उभिएको करिब–करिब एक दर्जन युवाहरूको सपनाको कथा पनि हो । यस कथाको लहरामा अन्य पात्रहरू छिटपुट देखिए पनि दुई मुख्य नायकहरू किसान जङ्गबहादुर र माधव ढुङ्गेल हुन् । जो छहारी फार्मका तथा यो स्वस्थकर सख्खरका प्रयोगकर्ताहरूको धन्यवादका पहिलो अनि प्रमुख पात्रहरू पनि हुन् । यसअर्थ, सर्लाहीका किसान जङ्गबहादुर र माधव ढुङ्गेललाई धन्यवाद भन्दै यो कथा मिठो सख्खरको सुरु गरौँ ।


उखुलाई पेलेर आउने रसलाई पकाएर जमाई तयार हुने सख्खर एक प्राकृतिक, शुद्ध र पौष्टिक खानेकुरा हो । उखुलाई पेलेर सख्खर बनाइ बजारसम्म लाने क्रममा कम प्रशोधन गरिने भएकाले यसमा उखुका मौलिक खनिज तत्त्वहरू सुरक्षित हुने हुँदा स्वास्थ्यको दृष्टिले समेत श्रेयस्कर छ । आयुर्वेदले यसलाई खाद्य पदार्थ मात्र नभई एउटा ‘योगवाही’ (औषधिको गुण बढाउने र कोषिकासम्म पु¥याउने माध्यम) का रूपमा चर्चा गरेको छ । त्यसैले सख्खर केवल गुलियो वा मिठासको स्रोत मात्र नभई एक औषधीय खाद्य पदार्थसमेत हो ।


किसानका लागि हरेक मौसमपछि तयार हुने उत्पादन मात्र उत्पादन होइनन्, ती एउटी आमाले प्रसव पीडापछि प्राप्त गरेको मातृत्व जस्तो अन्योलता, पर्खाइ, पीडा र खुसीको संगम वा शृङ्खला हो । प्राकृतिक कृषि तथा जडिबुटी सहकारीको उत्पादन क्षेत्रमा उखु रोप्दै गर्दा यसलाई लिएर किसान माधव ढुङ्गेल तथा उनका साथीहरूको मिठो सपना थियो, रसायन र विषादीरहित प्राकृतिक खेती गर्ने र यसलाई आम मानिसहरूको भान्सासम्म लाने ।


सर्लाहीमा तयार भएको उखुको कहानी पनि उस्तै छ । केही न केही नयाँ काम गरिरहने किसान जङ्गबहादुर राजनीतिक तथा सामाजिक काममा सकृय छँदै छन् कृषिमा पनि उस्तै जागरुक । कहिले तरुल लगाएर गाउँभरि तरुल लगाउन प्रोत्साहन गर्ने, कहिले नयाँ जातको सक्खरखण्ड लगाएर त्यसको बीउ गाउँमा अरु किसानलाई बाँड्ने उनको बगैँचामा कालो हलेदोदेखि ड्रागनफ्रुटसम्मको संगम देख्न सकिन्छ । यसरी, आफूले गरेको अभ्यासको आधारमा रासायनिक खादबिना पनि राम्रो खेती गर्न सकिन्छ भन्ने उनी र यस्तै खेतीपाती गर्ने किसान माधव ढुङ्गेल बीच बेलाबेला खेतीपातीलाई लिएर छलफल र गफ हुने गर्दथ्यो । त्यस्तै, एक साँझ सोल्टी बजारको कार्की चिया पसलमा किसान माधबसँग भेट हुँदा जङ्गबहादुर भन्छन्, “रसायन र विषादीविनाको उत्पादन राम्रो त छ, तर साला कसैले विश्वास नै गर्दैन । यही उखुको कुरा गरौँ न जीवामृत हालेको कस्तो गज्जब गरी झाँगिएको, तर उही भाउ उस्तै गरी चिनी मिललाई दिनुपर्छ । यसको के फाइदा ?”माधवले खाँदै गरेको चियाको गिलास टेबुलमा राखे र फिस्स हाँस्दै भने, “त्यसो भए सख्खर बनाएर बेचौँ न त ।”


जङ्ग सरले आफ्नो चस्मा माथिबाट आँखा हेर्दै बोल्नै लाग्दा फेरि माधव नै बोले, “एउटा युवाहरूको समूह छ, उनीहरूको फार्ममा पनि यस्तै उखु छ । यही हिँउदमा उनीहरुको सख्खर बनाउने योजना छ तपाईको उखुपनि थप्न सकिन्छ की म कुरा गरौला ।” चिया सकेर खैनी माड्दै जङ्गबहादुर बोले, “ल कुरा गरी हेरौँ त सर ।” यसरी उनीहरूको योजनामा छहारी फार्मको युवा समुह पनि जोडियो ।

चरक संहिता, सुश्रुत संहिता, भावप्रकाश निघण्टु, राज निघण्टु, धन्वन्तरि निघण्टु जस्ता प्रमुख आयुर्वेदिक ग्रन्थहरूमा सख्खरका गुण–कर्मको विस्तृत वर्णन पाइन्छ । सख्खरलाई पवित्र र शुद्ध खानेकुराका रूपमा हाम्रा धार्मिक ग्रन्थहरूमा उल्लेखित हुँदा सामाजिक तथा सांस्कृतिक महत्त्व त छँदै छ, साथै चिनी तथा गुलियोको विकल्पका रूपमा समेत प्रयोग हुने सख्खरको मानव स्वास्थ्यमा पनि महत्त्व छ ।


उद्यमशीलतामा फरक प्रयास
छहारीले आफ्नो जमिनमा भएको प्राकृतिक कृषि तथा जडिबुटी सहकारीले उत्पादन गरेको विषादी र रसायनरहित उखुबाट स्वस्थकर सख्खर बनाएर बजारमा लाने भएपछि उसै गरी खेती अभ्यास गरेका किसान जङ्गबहादुरको उखु पनि लिने भयो । स्वस्थकर सख्खर बनाउँदा किसान जङ्गबहादुरसँग दुई विकल्प थिए । एउटा—आफ्नो उखु अन्य खरिददारभन्दा थप पैसामा छहारीलाई बेच्ने अर्को, छहारीले उत्पादन तथा वितरण गर्ने सख्खरमा हिस्सेदारीमा बस्ने । उनकै योजना अनुसार उनलाई छहारीले केही उखु बापत पैसा दियो भने केही उखुको मूल्य बराबर सख्खर उत्पादन र वितरणमा सहकार्य गर्ने सहमति भयो । यसरी स्वाभाविक रूपमा छहारीले पाउने मुनाफामा पनि उनको हिस्सा रहेको छ । यसले गर्दा किसानले पाउने उत्पादन मूल्य पनि धेरै भयो भने बजारबाट प्राप्त हुने अतिरिक्त नाफामा समेत किसानको हिस्सा रहने भयो । यसरी आफ्नो पहिलो उत्पादनबाट नै छहारी फार्मले असल अभ्यासको सुरुवात गरेको छ ।


पछिल्लो समय सख्खरका गुण र विशेषताको कारण यसका प्रयोगकर्तामा वृद्धि भए तापनि नेपाली समाजमा यसको प्रयोग भने परापूर्वकालबाट नै भएको प्रमाण धार्मिक तथा सांस्कृतिक कार्यमा यसको प्रयोग हुने तथ्यबाट पाउन सकिन्छ । त्यस्तै समाजमा यसको महत्त्व भएको कुरा सख्खरलाई लिएर “अघाएपछि गुण पनि तितो”, “दिँदा नखाने राति कोल चाट्ने” जस्ता विभिन्न उखानहरूले देखाउँछन् । नेपाली समाजमा गुलियोका लागि चिनीको प्रचलन हुनुभन्दा अगाडि सख्खरकै प्रयोग हुने गरेको पाउन सकिन्छ ।


उखुलाई प्रशोधन गरेर छहारीको कोसेली स्वस्थ सख्खर बनाउने कार्य किसान, माटोको भाँडा बजाउने काम गर्ने र काटुन बनाउने उद्यमी तथा उखु क्रसरसमेतसँगको सहकार्यमा सम्पन्न भएको छ । जस्तो उमेरले पचास हिउँद बिताएका जगदिश पण्डितको पारिवारिक र परम्परागत पेसा नै माटोको भाँडा बनाउने हो । उनका बाबाले उनका हजुरबाबासँग, उनले उनका बाबासँग र अब उनका छोरा उनीसँग उसै गरी काम सिक्दै यो पेसा धान्दै आएका छन् । यति लामो समय यही पेसामा रहेको भए पनि यो साल छहारीका लागि उनले तयार गरेको भाडाको कारोबार नै ठूलो हो । छहारी आफ्नै घरसम्म आएर सामानको अर्डर दिएपछि उनको खुसीको सीमा नै छैन । उनले बनाएको साना र ठूला भाडाहरूमा सख्खर भण्डारण भएर धेरै मानिसहरूको भान्सामा पुग्ने कुरा उनका लागि समेत रमाइलो यात्रा जस्तो हो । भन्छन्, “अर्को वर्ष चाहिने भाडा अलि बेलामै बनाउने तर सबै भाडाको मूल्य लिएर होइन । केही पैसा लिने र बाँकी छहारीको उत्पादनमा सेयरका रूपमा काम गर्ने ।”


केही उखु पेल्ने मिलहरू घुमेपछि हामी सर्लाही बरहथुवामा लक्ष्मी शाहको उखु क्रसरमा पुग्यौँ । करिब १८ वर्ष उखु पेलेर सख्खर र भेली बनाएर बेच्ने काम गर्दै आएका लक्ष्मीका लागि हाम्रा उखु पेल्नु त नौलो थिएन, तर उखु पेलेर सख्खर बनाउने तथा बजारसम्म लान योग्य बनाउनजेल हामीले राखेका सर्त मान्न भने उनका लागि केही झन्झटिलो पक्कै थियो । यो परम्परागत क्रसरमा सरसफाइलाई लिएर हामी सचेत थियौँ । पेल्न तयार पारिने उखुको सरसफाइ, उखुको रस झर्ने ठाउँमा छान्ने प्रविधि, पकाउने मानिसको कारण मिसावट हुने केस, धुलो लगायत अखाद्य नहोस् भनेर हामीले सावधानी अपनाएका थियौँ ।


पाचन प्रणालीका लागि सख्खर अति उत्तम खानेकुरा मानिन्छ । सख्खरले शरीरको रगत सफा गर्छ र मेटाबोलिज्मलाई निको पार्छ । यसले ग्यास्ट्रिक कम गराउन मद्दत गर्छ । सख्खर शरीरलाई चाहिने फलामको स्रोत पनि भएको हुँदा एनिमियाका बिरामीहरूका लागि समेत यो फाइदाजनक हुन्छ । विशेष गरी महिलाहरूका लागि यसको सेवन एकदम महत्त्वपूर्ण मानिन्छ । छालाका लागि सख्खरले रगतबाट नराम्रो विषाक्त पदार्थ हटाउँछ, जसले छालाको चमक बढाउन मद्दत गर्छ । यसको सेवनले चिसो र कफबाट बच्न पनि मद्दत गर्छ । यदि चिसोको समयमा चियाको माध्यमबाट यसलाई प्रयोग गर्न सकिन्छ । शरीर थकित र कमजोर हुँदा यसको समाधानका लागि पनि सख्खरको प्रयोग गर्न सकिन्छ । सख्खरले शरीरको तापक्रम नियन्त्रण गर्छ । यसमा एलर्जी कम गर्ने तत्त्वहरू पाइने भएकाले यसको प्रयोग दमका बिरामीहरूका लागि समेत धेरै फाइदाजनक देखिन्छ । शरीरका अङ्गहरूको संयुक्त दुखाइबाट छुटकारा पाउनका लागि अदुवाको साथमा सख्खरको टुक्रासहित प्रतिदिन सेवन गर्नाले तीव्र रूपमा हुने दुखाइ कम हुन्छ ।


लक्ष्मी उखु क्रसरका श्रमिकहरूले सुरुमा केही अलमल गरेतापनि हाम्रो अनुरोधलाई मानेर सरसफाइमा ध्यान दिएर काम गरेकाले हामीलाई सजिलो भएको थियो । उसो त उनीहरूले अभ्यास गरिरहेको भन्दा फरक गरी काम गर्दा श्रमिक धेरै लाग्ने कुरा आर्थिक हिसाबले पनि हानिकारक नै थियो । पहिले उखुलाई सफा गर्ने अनि छान्दै पेल्ने, पेलेर रस झर्ने स्थानमा पनि सफा जालीले छान्ने, सावधानीपूर्वक तताउने र पकाउने । यसरी तयार भएको सख्खरलाई कराहीबाट कोलमा एकछिन घोलेर माटोको भाँडामा भरियो । भाँडामा भरिएको सख्खरलाई कागज र जुटबोरा प्रयोग गरेर जुटकै डोरीले बाँधियो । हातले बनाएका भाँडा अनि अन्दाजमै राखिएको सख्खर तौल एकरूपता नहुँदा फेरि तौल गरेर र मूल्य निर्धारण गर्दै काटुनसम्म राख्दा लक्ष्मी दाइ, उनको परिवार तथा क्रसरका श्रमिकहरू र छहारीका साथीहरू सहित सबैको श्रम, मेहनत र कामप्रति छहारी फार्म आभारी छ । आफ्नो पहिलो उत्पादनसँगै छहारीका युवाहरूको संलग्नतामा चक्रिय हरित अर्थतन्त्रको बाटो तय गरिसकेका छन्, जुन अहिले चलनचल्तीको बजारको उन्नत विकल्प हो भन्ने छहारीको विश्वास छ ।


“सख्खर एक उत्कृष्ट रसायन हो जसले रगत शुद्ध गर्छ, पाचन तन्त्रलाई उद्दीप्त तुल्याउँछ । परिष्कृत चिनीभन्दा यो धेरै गुणा स्वस्थकर र पोसिलो पनि छ ।” — डा. वसन्त लाड


यसरी, छहारी फार्मका साथीहरू, किसान, माटोको भाँडा बनाउने श्रमिक, काटुन बनाउने उद्यमी तथा उखु क्रसरका श्रमिकहरू समेतको सक्रिय प्रयासबाट तयार भएको सख्खर माघको पहिलो हप्ता देशको राजधानी पुग्यो । अहिले हाम्रो उत्पादन धेरै नभएको तथा ढुवानी लगायत सीमितताको कारण काठमाडौँ बाहिर अन्य स्थान पुग्ने सम्भावना कमै छ । आउदा दिनमा हामी यो सम्भावनामा पक्का काम गर्ने छौँ । जहाँजहाँ यो हामी पुगेछौँ छहारीको सख्खर प्रयोगकर्ताले दिएको प्रतिक्रिया तथा मायाले छहारी फार्मका किसानहरूलाई भने पुलकित र प्रोत्साहित बनाएको छ । छहारी फार्म सबै प्रकारका प्रतिक्रियाप्रति हार्दिक आभार व्यक्त गर्दछ । अन्त्यमा, यो सख्खर प्रयोग गर्दा तपाईंले आफ्नो परिवारको स्वास्थ्यको त विचार गर्नुभएको छ नै, साथै पर्यावरणअनुकूल वा प्राकृतिक खेती गर्ने किसान तथा परम्परागत पेसा (माटोको भाँडा बनाउने) को जीविकोपार्जनमा समेत योगदान गर्नुभएको छ ।